भारतीय रियलिटी शो ‘सारेगमप लिटल चाम्स’बाट फर्किएपछि आयुष केसीको घडीको काँटा अरु तीव्र घुम्न थाले झै भएको छ ।

१३ वर्षको उमेरमै पाएको चर्को नेम र फेमले उनलाई घरको न्यानो संसारभित्र चुलबुल–चुलबुल गर्दै बस्ने फुर्सद मिलेको छैन । ओछ्यानमाथि उफ्रिने, रेस्लिङ खेल्ने, कुद्ने, चञ्चलतापूर्वक लडिबुडी गर्ने, हाते बल उफार्ने, दिदीहरुलाई सताउने, भान्सामा सुटुक्कै छिरेर गुन्द्रुकको झोल घुट्क्याउने, टेबल ठटाएर गीत गाउने मेसो मिलिरहेको छैन ।

मिडियामा अन्तर्वार्ता दिनैपर्ने, गीत रेकर्ड गर्नैपर्ने, सम्मान थाप्नैपर्ने, शुभेच्छुकको फर्माइसमा दुई–चार गीत गुनगुनाउनै पर्ने, भेट्नेहरुसँग सेल्फी खिच्नैपर्ने । हिँड्दा, बस्दा, बोल्दा ‘जेन्टलमेन’ बन्नुपर्ने । सोधिएका प्रश्नको बान्की मिलाएर जवाफ दिनुपर्ने । कार्यक्रमको ‘शोभा’ बढाइदिनुपर्ने । घण्टौंसम्म भलाद्मी बनेर मञ्चमा बस्नैपर्ने । उनकी आमा रीता केसी भन्दै थिइन्, ‘दौडेको, दौडेकै भइरहेको छ ।’

अब उनलाई मस्त बसेर त के, आरामले हिँडेर पनि पुग्दैन । दौडनैपर्छ । लामो दौडको धावक झै । दिनदिनैको यो दौडधूपले उनको ज्यानलाई बिसञ्चो बनाउँछ । पढाइ छुट्छ । बिहान गुन्द्रुकको झोलसँग तातो भात खाएर निस्केको फुच्चेलाई साँझ छिप्पिँदासम्म घरमा पुग्ने मेलोमेसो मिल्दैन । ‘दिदीहरुसँग त राम्ररी खेल्न पाइरहेका छैनन्,’ आमा रीता सुनाउँछिन्, ‘उसले (आयुष)ले गर्दा म पनि बस्न पाएकी छैन । ६ महिना लगातार उसँगै दौडिरहेकी छु ।’

आयुष पढ्ने भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलका प्रिन्सिपल अनिल कसपाल ‘आयुषको पढाइ धेरै छुटिसक्यो’ भन्दै थिए ।

बिहीबारको ओसिलो साँझ अनलाइनखबरसँग भेट्दा आयुष दिनभरको थकानमै देखिन्थे । कमलादीमा भएको एक सांगीतिक कार्यक्रममा सहभागी भएर उनी साँझमात्र घर फर्कन पाए । आफ्नै गीतसमेत समावेश भएको एल्बम सार्वजनिक गरेर आमा–छोरा लखतरान हुँदै अन्तर्वार्ताका लागि तयार भएका थिए ।

आमा रीता हतार गर्दै थिइन्, ‘अन्तर्वार्ता छिटो सकाइदिनु होला है, बाबुलाई सञ्चो छैन । त्यसमाथि घर पुगेर होमवर्क भ्याउनु छ ।’

चञ्चल उमेरमा ‘जेन्टलमेन’

धपेडी र थकानबीच आयुषसँग जिज्ञासा राखेका थियौं, ‘सेलिब्रेटी जीवन बाँच्न गाह्रो होला है, घरमा बस्नै नपाइने ।’

सार्वजनिक चिनारी पाइसकेपछि निजी जीवन खुम्चदै जान्छ । व्यक्तिगत जीवन साँघुरिदै जान्छ । आफ्नो मर्जीअनुसार उन्मुक्त रमाउन पाइँदैन । बेलाबखत आयुषलाई उकुसमुकुस लाग्दो हो ?

जवाफ दिइरहँदा भने उनी शान्त एवं सौम्य देखिए । उही हँसमुख अनुहार, उही चञ्चल आँखा र मृदुल मुस्कानका साथ आयुष बोले, ‘रमाइलो लागिरहेको छ ।’

उनले आफ्नो जवाफ यत्तिमै टुंग्याएनन् । भलाद्मी ढंगमा थप्दै गए, ‘हिँजो मैले धेरै मेहनत र श्रम गरेकाले आज सबैको आगडि चिनिएको छु । खुसी लाग्छ । सबैले माया गर्नुहुन्छ । बोलाउनुहुन्छ । फोटो खिचौं भन्नुहुन्छ ।’

यतिबेला आमाले आयुषलाई पुलुक्क हेरिन्, सायद आफ्नै छोरोको यो परिपक्क वाक्यले उनलाई बेलाबखत चकित तुल्याउँदो हो ।

आयुषको नजर पनि आमातर्फ सोझियो । दुवैका आँखा जुधे । ‘उसलाई यस्तैमा रमाइलो लागिरहेको छ,’ छोराको मनोभाव बुझेझैं गरेर आमा रीताले भनिन्, ‘बिहान उठेदेखि रातिसम्मै ऊ यसरी नै इन्जोए गरिरहेको हुन्छ ।’

उमेरको हिसाबले उनी प्रि–टिनएज अर्थात पूर्व किशोरावस्थामा छन् । खाने र खेल्ने उमेर हो यो । चञ्चल उमेर हो यो । जे मन लाग्यो, त्यही गरिहाल्नुपर्ने । जे देख्यो, त्यही छोइहाल्नुपर्ने । जे चाह्यो, त्यही पाइहाल्नुपर्ने ।

यस्तो उमेरमा ‘भलाद्मी’ बनेर बस्नुपर्दा, सतर्क एवं सचेत भएर हिँड्नुपर्दा, संयमित भएर बोल्नुपर्दा कस्तो हुन्छ ?

‘सबै कुरा आफूले चाहेजस्तो त कहाँ हुन्छ र ?’ आयुष समझदार जवाफ फर्काउँछन्, ‘केही पाउन केही त्याग्नैपर्छ नि ।’

आयुषको आनीबानी

चुलबुले आयुष केही नगरी बस्न सके पो ? घरमा पुगेछि उनलाई उफ्रनुपर्छ, खेल्नुपर्छ, गीत गाउनुपर्छ । ‘त्यही भएर यसको जिउ लागेको छैन, कहिल्यै मोटाउँदैन’ आमाले यस्तो टिप्पणी गरिरहँदा पनि आयुष आफ्नो टेबललाई तबला बनाएर ठट्टाइरहेका छन् । आमा बोल्दा उनलाई फुर्सद हुन्छ । त्यही फुर्सदमा उनको चञ्चल आँखा यताउता दौडन्छ ।

अलि शान्त बस्ने भनेकै होमवर्क गर्दा हो । खाना खाइरहँदा पनि टीभी नहेरी हुन्न । टीभीमा कार्टुन लगाएपछि मात्र उनको घाँटीबाट गाँस छिर्छ । खानामा गुन्द्रुक छ भने उनको भोक बढ्छ । भटमास, गोलभेँडा मिसाएर पकाएको गुन्द्रुकको झोलले आयुषको मुखमा पानी आउँछ । ‘भारतमा हुँदा मलाई गुन्द्रुकको तलतल लागिरह्यो,’ आयुष सुनाउँछन्, ‘नेपाल फर्केपछि घुटघुट गुन्द्रुकको रस पिएँ । अनि झोल मःम पनि ।’

यद्यपि जस्तोसुकै खानामा सन्तोष गर्छन् उनी । यो मिठो, त्यो नमिठो भन्दैनन् । चुपचाप खान्छन् । अनेकथरी माग्ने, दुःख दिने स्वभाव सानैदेखि थिएन । आमा रीता भन्छिन्, ‘सानै उमेरदेखि यसले दुःख दिएको थाहा छैन ।’

यद्यपि घरमा बस्दा केही न केही उट्पट्याङ गरिरहन्छन् झर्को लाग्ने गरी । ‘आज बिहान स्पन्ज वाला बल खेल्दा ममीलाई लाग्यो,’ आयुषले आफ्नो हर्कत सुनाए, ‘उहाँ रिसाएर त्यसलाई च्यातचुत बनाएर फ्याँकिदिनुभयो ।’

बल चार टुक्रा भएको थियो । आयुषले त्यसलाई ग्लु लगाएर जोडिदिए । बल देखाउँदै आमालाई भने, ‘आठ टुक्रा बनाइदिनुभयो भने पनि जोडेर खेल्छु ।’

आयुष केही न केही नयाँ कुरा गरिरहेकै हुन्छन् । आमा भन्छिन्, ‘हरेक दिन यसले एउटा न एउटा नयाँ काम गरेकै हुन्छ ।’

आयुष आफ्नो काम आफैं गर्छन् । लुगा धुन्छन् । अन्डा पकाउँछन्, चिया पकाउँछन् । जुत्तामा पोलिस लगाउँछन् । लुगाफाटो मिलाउँछन् । सरसफाइ गर्छन् । दिदीहरु कोठा सफा गर्न थाले भने उनी पनि सघाउन पुग्छन् । घर चिरिच्याट्ट बनाउँछन् । केहीबेरमै उनी खेल्न थाल्छन् । खेल्दाखेल्दै मिलाएका सरसामान लथालिंग हुन्छन् ।

दिदीहरुलाई सताएकै हुनुपर्छ । चलिरहन्छन् । ‘अस्ति आयुष नभएको बेला उनीहरुले नियास्रो माने’ आमा भन्छिन् । त्यसो त आयुष जहाँ–जहाँ बस्छन्, आसपासको माहोल रमाइलो बनाउँछन् । उनलाई अढाइ वर्षकै उमेरमा विद्यालय भर्ना गरियो । विद्यालयमा उनीसँग शिक्षिकाहरु झ्याम्मिन्थे । कहिलेकाहीँ आयुष विरामी भएर विद्यालय जान पाउँदैनथे । शिक्षिकाहरु आग्रह गर्थे, ‘एकछिन भएपनि स्कुलमा ल्याइदिनू न ।’

आयुष आमासँगै सुत्छन् । सुतेपनि निद्रा भने लाग्दैन । मध्यरातसम्म छटपटीमै बित्छ । ‘राति भएपछि भूतको डर लाग्छ, त्यही भएर मुख छोप्छु,’ आयुष भन्छन्, ‘फेरि उकुसमुकुस भएर सिरक हटाउँछु ।’ यसरी छटपटिँदा छटपटिँदै रातको १२, १ र बेलाबखत २ बज्छ । बिहान उठ्दा घडीले ८ बजेको संकेत गरिरहेको हुन्छ ।

त्यसो त राति भएपछि पनि विश्राम कहाँ लिन पाइन्छ ? आमाको मोबाइलमा घण्टी बज्न थाल्छ । यसरी बज्ने घण्टी आयुषका फ्यानका हुन्छन् । उनका फ्यानले राति–राति फोन गर्छन् । फोन आमाले उठाउँछिन्, आमा नै बोल्छिन् । ‘ममीलाई धेरैबेर फोनमा गफ गर्न लगाएर मचाहिँ उफ्रदै खेल्न थाल्छु,’ आयुष सुनाउँछन् ।

स्वेच्छिक गायन, सहयोगी अभिभावक

बेलाबखत साना बच्चाहरुलाई आमाबुवाले आफ्नो इच्छा र आकांक्षामा डोहो¥याउन खोज्छन् । यसलाई उनीहरुले ‘प्रेरणा’ वा ‘हौसला’ भनेर बुझ्छन् ।

तर, यो एक किसिमको दबाव हुन्छ । बुवाआमाको यस्तै दबावमा परेर कतिपय बालबच्चा कठपुतली बनिदिन्छन्, आमाबुवाका खातिर । आयुषको हकमा पनि त्यस्तै भएको हो कि ? के आमाबुवाको मन राख्न उनले आफ्नो चमकदमक बढाइरहेका छन् ?

‘मलाई कुनै दबाव छैन, आफ्नै इच्छाले गाइरहेको छु,’ आयुषले यो रक्षात्मक जवाफसँगै आफू कसरी गायनमा लागियो भनेर पनि सुनाए ।

उनी पढ्ने विद्यालयमा अतिरिक्त कक्षा हुन्थ्यो, चित्रकला, संगीत, नृत्य आदिको । यसमध्ये एउटा कक्षा मात्र रोज्नुपर्ने । आयुषको रहर भने गायन र चित्रकलामा ।

‘त्यसबेला मलाई गाउनभन्दा बढी चित्रकलामा रुचि थियो’ आयुष भन्छन्, ‘त्यही भएर चित्रकलाको क्लासमा जान थालेँ ।’ एकदिन भने उनी सुटुक्कै संगीतको कक्षामा पुगे । गुरुले गाली गरे, ‘किन तिमी यहाँ आएको ? आफ्नो कक्षामा जाऊँ ।’

संगीत सिकिरहेका साथीहरुले गुरुलाई रोक्दै भने, ‘होइन, होइन सर । उसले कस्तो राम्रो गीत गाउँछ !’ गुरुले उनको स्वरमा गीत सुन्न चाहे । आयुषले गाइदिए । त्यसपछि गुरुले भने, ‘तिम्रो अभिभावकको मोबाइल नम्बर दिन सक्छौं ?’

ती गुरुले आयुषको आमा रीतालाई फोन गरेर भने, ‘बच्चाले गायनमा केही गर्न सक्छ, उसलाई सहयोग गर्नुहोला ।’

आयुषकी दिदीहरु आयुषा र आयुष्मा गाउनमा खुब सिपालु । घरमा उनी संगीत अभ्यास गरिरहेकी हुन्थिन् । आयुष गीत संगीत बुझ्ने उमेरका थिएनन् ।

‘म बामे सर्दैै दिदीले गीत गाएको सुन्न जान्थेँ रे,’ यसो भनेपछि आयुषले पुलुक्क आमालाई हेरे । आमाले उनको भनाइ अनुमोदन गरिदिइन् । ‘यसलाई सानैदेखि गीत सुन्न मन पर्ने,’ आमा रीताले सुनाइन्, ‘मोबाइलमा गीत बजाइदिएपछि रमाउने ।’

विद्यालयमा गाउँदा गाउँदै उनी अमृत क्षेत्रीको सम्पर्कमा पुगे, जो गायक तथा संगीतकार हुन् । उनको सुरशाला म्युजिक एकेडीमा आयुष संगीत सिक्न थाले । घरमा आमाबुवाले पनि आयुषका लागि अनुकुलता मिलाइदिए । आमबुवाले उनलाई ढाडस दिइरहे ।

बाल गायनलाई उजागर गर्ने पहिलो टेलिभिजन रियलिटी शो सुरशाला जुनियरमा आयुष सहभागी भए । सहभागी मात्र भएनन्, शीर्ष उपाधि नै जिते ।

त्यसपछि उनको आत्मविश्वास अरु बढ्यो । संगीत गुरु अमृत क्षेत्रीकै प्रयासले आफूले संगीतमा प्लेटफर्म पाएको आयुष बताउँछन् । उनै क्षेत्रीले आयुषलाई भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन प्रतियोगिता ‘सारेगमप लिटल च्याम्प’सम्म पुग्ने बाटो पहिल्याइदिएका थिए ।

आयुष, अर्का बाल प्रतिभा प्रितम आचार्यलगायतले गीत गाइरहेको भिडियो पठाएपछि टेलिभिजनले रियलिटी शोमा अडिसनका लागि बोलाएको थियो । त्यसबेला आयुष र प्रितमसँगै अन्य ८ जना बालबालिका दिल्ली पुगेका थिए । आयुष र प्रितम स्टुडियो राउन्डबाट लेभल टुमा छनौट भए ।

सारेगमपको अनुभव

‘सारेगमप लिटल च्याम्प’का लागि १० जनाको हुलमा मिसिएर दिल्ली पुगेको अनुभव सुनाउँदै आयुष भन्छन्, ‘त्यहाँको माहोल, रमझम र अरुले गाएको देखेपछि मेरो त होस नै उड्यो ।’

उनलाई लागेको थिएन, छनौटमा परिएला । किनभने दिल्लीबाट उनीजस्ता हजारौं भिड्दै थिए । मुम्बई, कोलकत्ता जस्ता थुप्रै शहरबाट अरु हजारौं सहभागी प्रतिस्पर्धा गर्दै थिए । ‘सहभागीसम्म भएर फर्कन्छु भन्ने लागेको थियो,’ आयुष भन्छन्, ‘तर त्यही यात्रा फाइनलसम्म पुग्छ भनेर सोचेको थिइनँ ।’

आखिरमा नेपालबाट गएका आयुष र प्रितम आचार्यले अविछिन्न फाइनलसम्म यात्रा तय गरे ।

‘सुरुमा त गाउन सकिन्छ भन्ने लागेको थिएन,’ आयुष भन्छन्, ‘तर त्यहाँ बस्दै गएपछि हामी गाउन सक्ने भयौं ।’

आयुषका अनुसार उनीहरुलाई त्यहाँ यस्तो माहोलमा राखियो, जहाँ एक साधारण बालबालिकाले पनि आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्छन्, उजागर गर्न सक्छन्, मनोबल बढाउन सक्छन् । र, चम्किलो मञ्चमा उभिएर दिग्गज गायक वा सेलिब्रेटीका सामुन्ने गाउन सक्छन् ।

‘मजस्तो मात्र होइन, मभन्दा राम्रा–राम्रा गाउने प्रतिभाहरु पनि नेपालमा छन्,’ आयुष भन्छन्, ‘उनीहरुले हामीले जस्तो अवसर नपाएका मात्र हुन् ।’

आयुषकै कुरामा समर्थन जनाउँदै आमा रीता थप्छिन्, ‘आयुषले अवसर पायो, त्यो ठूलो कुरा हो । तर अवसर नपाएका अरु बालबालिका पनि कति छन् । आयुषभन्दा राम्रो र प्रतिभाशाली पनि छन् । उनीहरुको रुचिलाई अभिभावकले बुझ्नुपर्छ । साथ दिनुपर्छ ।’

Categories: Music