गुरुङ समुदायको दसैं

लमजुङ — नेपाली समुदायमा विषेशगरी दसैंमा सेतो र रातो टीका प्रयोग गरिन्छ । आदिवासी जनजातिको गुरुङ समुदायमा भने दसैंको टीका सेतो प्रयोग गरिन्छ । नेपालका मगर र राइलिम्बूका अधिकांश समुदायमा सेतो टीका लगाउने गरिन्छ ।

फाइल तस्बिर: कान्तिपुर

आदिवासी जनजाति समुदायमा दसैं मनाउने या नमाउने बहस जारी छ । केहीले दसैं मनाउन पनि छोडेका छन् । तर, दसैंको विजयादशमीकादिन गुरुङ समुदायले भने सेतो टीका लगाउँदै आएका छन् ।

पूर्व प्राज्ञ एवं गुरुङ पुरोहित (पैंडी) इन्द्रबहादुर गुरुङका अनुसार देशविदेशका गुरुङ समुदायले दसैं मनाउँछन् । गिलुङ घर भएका उनले अन्य जाती र गुरुङ जातीको दसैं मनाउने तौरतरिका छुट्टै भएको बताए । ‘दसैंको तिथिमिति एउटै भएपनि यसलाई मनाउने परम्परा छुट्टै छ,’ उनले भने । उनका अनुसार विजयादशमीको दिन विषेश दिन हो । उक्त दिन आफ्ना मान्यजनबाट दहिचामल मुछेको सेतो टीका र जौ वा मकैको जमरा लगाउँछन् । ‘हामीले परापूर्वकालदेखि सेतो टीका प्रयोग गर्दै आएका छौं । यसले शुभकार्य र शुभसाइतको संकेत गर्छ । सेतो टीका शान्तिको प्रतीक पनि हो,’ उनले भने । उनका अनुसार रातो रंग पछि आएको हो ।

गुरुङ समुदायमा जमरा उमार्न बनकेराको पातलाई टपरी बनाएर चिप्ट्याइलो माटोमा बाख्रा वा भेडाको गोबर मिलाएपछि जौ वा मकै राखिन्छ । घटस्थापना वा भोलिपल्ट राखिएको जमरा घरभित्रै माथिल्लो तला जाने भर्‍याङमुनी थुन्से वा डालोले छोपेर राखिन्छ । सेतो कमेरो र गाढा पहेंलो चिम्ट्याइलो माटोमा गाइको गोबर राखेर घर लितपोत गरिन्छ । यही बीचमा परदेशिएका तथा सहरबजारका आफन्त गाउँ फर्किन्छन् । एकआपसमा उनीहरु एकठाउँ जुट्छन् । दौंतरी मिलेर जंगलका सुरिला रुख काटेर लिंगे पिङ र रोहटे पिङ बनाउने प्रतिष्पर्धा हुन्छ । क्व्होलासोंथर ६, पसगाउँका वडाअध्यक्ष मनलाल गुरुङका अनुसार केटा दौंतरीले पिङ काटेर ल्याउँदा केटी दौंतरीले बाटैमा खाजा बोकेर लिन जाने परम्परा अहिलेसम्म छ । यही बेला सहर झरेका र परदेश गएका आफन्त गाउँ फर्केपछि गाउँघरमा रमाइलो छाएको छ ।

गुरुङ समुदायमा फूलपाती, अष्टमी र नवमीको बिहान कुनै एक दिन बिहान खेमा (पूर्खा) को पूजा गर्छन् । यसलाई खेमा राख्ने भनिन्छ । यो गाउँपिच्छे फरक–फरक दिनमा गरिने मस्र्याङदी गाउँपालिका १, घनपोखराका गुरुङ पैंडी (पुरोहित) दुर्गाशंकर गुरुङले बताए । उनका अनुसार जुनदिन दसैं मानिन्छ, त्यही दिन बिहान खेमा राख्ने चलन छ । पहिले आफ्नो पूर्खालाई सम्झेर वा पूजा गरेरमात्रै दसैं मनाइने उनले बताए । गुरुङ गाउँमा अष्टमीका दिन टोलटोलमा राँगा काटिन्छ । यसलाई मार हान्ने भनिन्छ । टोलटोलमा राँडा काटेर ब्यक्तिपिच्छे बराबर मासुको भाग लगाइने गरिन्छ । केही गुरुङ गाउँमा त्यही दिनलाई दसैं मानेर रमाइलो गरिन्छ । ‘दुर्गा राखिएको घरमा नवमीमा बोका बली दिइन्छ र दसैं मनाइन्छ,’ उनले भने ।

विजया दशमीका दिन मीठामीठा परिकार खाएर आफ्ना बाजेबज्यै, बाबुआमा र मान्यजनबाट टीका थापिन्छ । भुजुङका ९१ बर्षीय बीरलाल गुरुङका अनुसार घरघरमा आफ्नो बाजेबज्यै र बाबुआमासंग टीका लगाएपछि गाउँघरका मान्यजनसंग टीका थाप्ने चलन छ । आफ्नै बाजेबज्यै वा आमाबुवा नभएकाले साइनो अनुसार सवैभन्दा जेठो दाइ पर्ने वा गाउँका सवैभन्दा पाको उमेरकासंग टीकाजमरा थाप्ने र आशिर्वाद लिने चलन छ । टिका लगाउँदा केहीले कोसेली दिने गर्छन् । टीका लगाउनेलाई घरमा बनाइएको एक गिलास दूध, घरेलु मदिरा वा अन्य पेय पदार्थ, मासुका परिकार वा काँक्रो खुवाउने चलन छ । गुरुङ समुदायका गाउँघरमा टीका लगाउन आउनेलाई दक्षिणा दिने चलन नरहेको उनी बताउँछन् ।

दसैंमा चेलीबेटीलाई बोलाएर सामुहिक रुपमा खाना खुवाउने चलन गुरुङ गाउँमा छ । दसैंमा माइत आउन नपाएका चेलीका लागि माइतीपक्षले दसैंभाग पुर्‍याउने चलन छ । दसैंको टीका थाप्न ससुराली जाने चलन छ । विवाह गरेको पहिलो दसैंमा ससुरालीका टीका अनिबार्य थाप्ने चलन रहेको छ । पछिल्लो समय बौद्ध धर्मालम्बीप्रति आस्थावान गुरुङ समुदायले दसैं विस्तारै मान्न छाडेका पनि छन् । उनीहरुले पशुबलीको विरोध पनि गर्दै आएका छन् । तर, बहुसंख्यक गुरुङ समुदायले दसैं मान्दै आएका छन् । मासु नखाने प्राय:ले दसैंमा सेतो टीका र जमरा भने लगाउने गरेका छन् ।
Facebook Comments
(Visited 10 times, 1 visits today)

About The Author